किसानलाई विज्ञको सुझावः –‘माटो मर्नु अगावै जाँचौ र उपचार गरौं’

पाेखरा | फागुन २४, २०७९

किसानलाई विज्ञको सुझावः –‘माटो मर्नु अगावै जाँचौ र उपचार गरौं’

के माटोले पनि श्वास फेर्छ ? माटोमा पनि जीवन हुन्छ ? माटो पनि मर्छ ? अनि माटोलाई बचाउँन उपचार गरिन्छ ?

 

प्रश्नको फेहरिस्त जवाफ दिँदै माटो विज्ञ सुनिल पाण्डे भन्छन्, ‘हो, माटोले श्वास फेर्छ, बिरामी हुन्छ र उपचार पनि गर्नुपर्छ ।’ पाण्डेका अनुसार माटो जीवित हुन्छ र मर्छ पनि । एकपटक मरिसकेको माटोलाई पूनर्जीवन दिन धेरै समय र खर्च लाग्ने पाण्डे बताउँछन् । 

 

माटो तथा मल परीक्षण प्रयोगशाला पोखरामा वरिष्ठ माटो विज्ञकारुपमा कार्यरत पाण्डेले परम्परागत खेतिपातिबाट बिस्तारै व्यावसायिक कृषितर्फ लाग्ने क्रम बढिरहे पनि सोही अनुसार कृषकहरुमा माटोसम्बन्धि ज्ञान नभएकोमा दुख व्यक्त गरे । उनका अनुसार ज्ञानको कमीले माटो मरुभूमि बन्दैछ, जसलाई पुरानै स्वरुपमा फर्काउन कठिन छ । 

 

थोरै जमिनमा धेरै उत्पादन लिन कृषकहरुले रासयनिक मलको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा ह्रास आउने गरेको विज्ञ पाण्डेको भनाई छ । हाइब्रिड र बेमौसमी खेती गर्दा माटो मर्दै गएको भन्दै पाण्डेले माटोको परीक्षण र उपचार अत्यावश्यक भएको सुझाए । ‘माटोबिना धर्तीमा जीवन छैन, यत्ति बुझिदिनु प¥यो’ उनको कथन छ । 
 

 

जनसंख्या वृद्धि र उच्च आयको लोभमा कृषकले कम्पोष्ट मलको कम प्रयोग गर्दा त्यसको असर मानव स्वास्थ्यमासमेत पर्दै गएको उनले जनाए । ‘माटोमा जस्तो तत्व छ त्यहाँबाट हुने उत्पादनमा सोही गुण हुन्छ’ पाण्डे भन्छन् ‘माटो अस्वस्थ वा दुषित छ भने त्यसले हाम्रो शरिरलाई दिने पनि त्यहि तत्व हो ।’
 

 

व्यावसयिक खेतीमा अत्यधिक मलखाद र माटोको गुण परीक्षण हुनैपर्ने उनको जिकिर छ । पाण्डेले भने ‘माटो कमसल भए उत्पादन कमसल हुन्छ, त्यसले शरिरलाई पोषण दिँदैन ।’ उनका अनुसार दिनानुदिन माटोमा अम्लीयपन बढिरहेको छ, जसको प्रमुख कारण स्वयं कृषक हुन् । 

 

प्रयोगशालाले हाल माटो परीक्षणार्थ घुम्ती सेवा सुरु गरेको र कृषकलाई सेवा दिन विभिन्न स्थान पुग्ने योजनाअनुरुप काम अघि बढाएको बताएको छ । जनचेतनाको अभावमा माटो परीक्षण हुन नसकेको भन्दै प्रयोगशालाले ल्याबसहितको बस प्रयोगमा ल्याएको छ । 

 

यद्यपि, माटो परीक्षणपछि त्यसको नतीजाअनुरुप कृषकलाई माटो उर्वर बनाउन दिइने सुझावको कार्यान्वयन भने हुन नसकेको पाण्डेले गुनासो गरे । ‘माटोमा चुनको प्रयोग, मलखादबाट बन्ने कम्पोष्ट मल, रासायनिक मल र अन्य प्राकृतिक उपाय सुझाउँछौ तर उहाँहरु (कृषक)ले उपचार पद्दति अपनाउनु हुन्न’ पाण्डेको भनाई छ । 

 

त्यसो त कृषकहरुले माटो परीक्षणमा रुचि नदेखाएपनि प्रयोगशालाले यस वर्षमात्रै किट र भ्यानबाट करिब ५ हजार नमुना परीक्षण गरेको दाबी गरेको छ । प्रयोगशालासँग अत्याधुनिक प्रविधि व्यवस्थापन गर्न असम्भव रहेपनि पोखराको प्रयोगशालाले चालु मेसिनबाटै परीक्षणलाई निरन्तरता दिएको छ । 
 

 

कुनैपनि बाली लगाउँनुअगावै माटो परीक्षणमा जोड दिँदै उनै पाण्डे भन्छन् ‘उन्नत जातको बिउँ–बिजन, खनजोत, पोटासियम, फस्फोरसलगायतका मल, सिँचाईको उचित प्रयोग गर्न सके हाल भइरहेको भन्दा २ गूणा बढी उत्पादन हुनसक्छ ।’

 

हाल स्थानीय निकायबाट व्यावसायिक कृषिका नाममा दिइने अनुदानले खासै सकारात्मक सन्देश दिन नसकेको उनको गुनासो छ । ‘छिमेकी मुलुक भारतमा किसानले माटो परीक्षण गरेको ‘सोइल टेस्ट रिपोर्ट’ पेश गरेपछि बल्ल प्राथमिकताका आधारमा अनुदान दिने गरिन्छ’ पाण्डेले भने ‘यहाँ निवेदनको आधारमा पैसा दिने गरिएको छ ।’

 

सरकारी अनुदान सही ठाउँमा पुग्नुपर्छ भन्ने उद्देश्यअनुरुप पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुखसँग छलफल चलिरहेको र माटो परीक्षणपछि उपयुक्त हुने खेतीमा सहयोग गर्ने नीति बनाइने पाण्डेले जानकारी दिए । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्